हेटौँडा –
हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको सामान्य विवाद हिंसात्मक बन्दा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनापछि प्रहरीले संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार साउन २९ गते बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहितका व्यक्तिबीच गाडी पार्किङ गर्ने विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएको थियो।
धारिलो हतियार प्रहारबाट मनहरी–६ का २७ वर्षीय जीवन गोले र चितवन राप्ती नगरपालिका–२ का ३२ वर्षीय रामबहादुर पाख्रीन मध्यम घाइते भएका छन्। त्यस्तै, ओखलढुङ्गा सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर र चितवन राप्ती नगरपालिका–४ का २८ वर्षीय जीवन तामाङ सामान्य घाइते भएका छन्।
घाइते चारै जनालाई हेटौँडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले खोजतलास तथा अनुसन्धान तीव्र बनाउँदै हेटौँडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी घटनामा संलग्न रहेको आशंकामा भक्तपुर सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको जनाएको छ।
पार्किङको सामान्य विषयबाट सुरु भएको विवाद धारिलो हतियार प्रहारसम्म पुगेपछि हेटौँडा बसपार्कको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ। प्रहरीले घटनाको कारण, प्रयोग भएको हतियार तथा संलग्न व्यक्तिको भूमिकाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











