२०८३ आश्विन १५ गते, बिहीबार १४:१२

पार्टीभित्रको मतभेद महाधिवेशनबाट समाधान गरेर कांग्रेसलाई मजबुत बनाऔं: पूर्वसभापति देउवा

वीरगन्ज—

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउन अपील गर्नुभएको छ। बिहीबार एक अपील जारी गर्दै उहाँले झण्डै आठ दशक लामो ऐतिहासिक विरासत बोकेको कांग्रेसको यो महाअधिवेशन अत्यन्त महत्वपूर्ण रहेको जनाउनुभएको छ।

देउवापक्षीय १५औँ महाधिवेशनअन्तर्गत देशभरका ६ हजार ७४३ वटा वडाहरूमा बिहीबारदेखि एकैसाथ अधिवेशन सुरु हुँदैछ। सोही वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी हुन उहाँले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ।

अपीलमा भनिएको छ, ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

कांग्रेस संस्थापन पक्षको महाधिवेशन आगामी असोज १८ गतेदेखि सुरु हुने तय गरिएको छ भने देउवा समूह (संस्थापन इतर पक्ष) को केन्द्रीय महाधिवेशन आगामी मंसीर २१ गतेदेखि हुने घोषणा गरिएको छ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पार्टीले गरेको बलिदान, त्याग र संघर्षलाई थप सुदृढ बनाउन पनि १५औँ महाधिवेशन कोसेढुङ्गा साबित हुने पूर्वसभापति देउवाको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस