२०८३ आश्विन १५ गते, बिहीबार १४:१२

सिरहामा १ हजार १ सय २ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा-

सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १२:३६ बजे विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा २६ बोरामा राखिएको कुल १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार उक्त गाँजा बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकलमा राखेर ओसार्दै गरिएको थियो। सुरक्षाकर्मीको टोलीलाई देखेपछि तस्करहरू बोलेरो र मोटरसाइकल बाटोमै छाडेर फरार भएका छन्। प्रहरीले दुवै सवारीसाधन र गाँजा नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहामा सुरक्षितसाथ ल्याएको छ।

गाँजा तस्करहरूको सुराकीका आधारमा उक्त क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा सतर्कता कडा पार्दै व्यापक जनशक्ति परिचालन गरेको थियो। गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना, सुरक्षा बेस गोलबजारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना र सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जना गरी कुल २९ जनाको टोली परिचालन गरिएको थियो। बरामद गरिएको गाँजा तथा नियन्त्रणमा लिइएका सवारीसाधनहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस