२०८३ आश्विन १५ गते, बिहीबार १८:०६

कांग्रेस २ मा चौरसियाको सिन्डिकेट हाबी: वडा १० का २८ नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा

वीरगन्ज —

नेपाली कांग्रेस वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २८ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्र सीमित व्यक्तिको सिन्डिकेट हाबी भएको र लामो समयदेखि पार्टीमा योगदान दिएका व्यक्तिहरूको कदर नभएको भन्दै उनीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा उनीहरूले वि.सं. २०४६ को जनआन्दोलनपछि प्रजातन्त्रमा पहिलो बुथ समितिको सभापति भएर पार्टीको नेतृत्व गर्दै आएको तथा विभिन्न स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गरेका छन्। वीरगन्ज उपमहानगरपालिका हुँदै महानगरपालिकाको परिवेशमा समेत पार्टीका नीति–नियमअनुसार आफूहरूले कर्तव्य निर्वाह गर्दै आएको पत्रमा उल्लेख छ।

पार्टीभित्र लामो समयदेखि देखिएका बेथिति सुधार गर्नुको सट्टा केही व्यक्तिबाट नातावाद, कृपावाद र परिवारवादको प्रवृत्ति बढ्दै गएपछि बाध्य भएर राजीनामा दिनुपरेको राजीनामा दिएका तिलक कुमार साहले बताए। राजीनामा दिएका सबै नेताहरू वीरगन्ज महानगरपालिका वडा नं. १० का हुन्, जो पर्साको क्षेत्र नं. २ मा पर्दछ। यस क्षेत्रका नेता पूर्व सांसद अजय चौरसिया रहेको र उहाँको वर्षौंदेखिको सिन्डिकेट तथा हैकमवादी प्रवृत्तिका कारण पार्टी छोड्नुपरेको उनीहरूको आरोप छ।

आफूलाई पार्टीको ह्यावी वेट नेता दाबी गर्दै आएका चौरसियाले वर्षौंदेखि क्षेत्रमा आफ्नै आसेपासेहरूलाई पदमा राखेर हैकम जमाउँदै आएका छन्। यसअघि पनि परिवर्तनको नारालाई आत्मसात् गर्न नसकेका चौरसियाले यस वर्षको अधिवेशनमा पनि आफ्नै पुराना मान्छेहरूलाई प्राथमिकतामा राखेको आरोप छ। खुला छलफल नै नगरी कोठे बैठकबाट पदाधिकारी टुंगो लगाएको भन्दै पार्टीका नयाँ पुस्ताका नेताहरू असन्तुष्ट छन्।

लामो समयदेखि पार्टीमा लागेकाहरूलाई सम्मानजनक व्यवहार तथा पदस्थापन गर्न नसकेका चौरसियाले अझै पनि आफ्नै सिन्डिकेट चलाइरहेको र यस किसिमको गैरजिम्मेवार रवैयाका कारण इमानदार कार्यकर्ताहरूले पार्टी छाड्नुपरेको उनीहरूको बुझाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस