२०८३ आश्विन १५ गते, बिहीबार १८:०६

वीरगन्जमा प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध ठगी मुद्दा दायर

वीरगन्ज —

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको छ। पर्सा जिल्ला अदालतमा अञ्जली इन्टरनेसनलले दायर गरेको उक्त मुद्दामा तत्कालीन सनराइज बैंकका सीईओ शर्मासहित तीन जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रविन्द्र केसीविरुद्ध मुद्दा दायर गरिएको हो।

अभियोगपत्रको मुख्य दाबी

अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि थप कर्जा माग गरेपछि तत्कालीन सनराइज बैंकबाट ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको थियो। तर स्वीकृत कर्जाको सुरक्षणका लागि करिब ८९ लाख रुपैयाँ बराबरको थप धितो समेत राखिएको आरोप छ। अञ्जली इन्टरनेसनलकी सञ्चालक निर्मला देवीका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमावस्यास्थित कित्ता नम्बर २९९ को जग्गा बैंकको पक्षमा धितोबन्धक गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

कर्जा स्वीकृत भएपछि बैंकले धितो रोक्का राखी लिलामी प्रक्रियासमेत अघि बढाएको तर कर्जा रकम भने उपलब्ध नगराएको दाबी अभियोगपत्रमा गरिएको छ। रकम उपलब्ध नभएपछि सम्बन्धित बैंक अधिकारीहरूसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा नआएको र आपसी मिलेमतोमा कर्जा स्वीकृत गराएर आफू तथा कम्पनीलाई आर्थिक क्षति पुर्‍याएको आरोप लगाइएको छ।

फरारको सूचीमा प्रतिवादीहरू र सीईओ शर्माको अवस्था

प्रहरीका अनुसार प्रतिवादीहरू असोज २ गतेदेखि फरार रहेको भन्दै अदालतबाट कानुनबमोजिमको म्याद पुर्जी जारी गर्न माग गरिएको थियो। उनीहरूविरुद्ध लगाइएको आरोपको सम्बन्धमा थप अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढ्नेछ।

सुमन शर्मा हाल प्रभु बैंकका सीईओ हुन्। उनलाई बैंकको सञ्चालक समितिले २०८२ माघमा चार वर्षका लागि सीईओ नियुक्त गरेको थियो र उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओका रूपमा काम गरिसकेका छन्। तर, मुद्दा दायर हुनुभन्दा २ दिन अघि नै उनी बैंकबाट फोर्स लिभ लिएर विदामा रहेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृतका विषयमा मुद्दा दायर भएपछि आज बैंकको सञ्चालक समिति बैठकसमेत बस्दै गरेको बैंक स्रोतले बताएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस