२०८३ आश्विन १७ गते, शनिबार १२:५९

भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीन जना पक्राउ

सिरहा –

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरेको थियो।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको एसपी थापाले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस