२०८३ आश्विन १८ गते, आईतवार १९:५८

संसद् र दलभित्र पर्याप्त खुलापन नभए देशलाई ‘खुलामञ्च’ आवश्यक: कांग्रेस सभापति गगनकुमार थापा

काठमाडौँ —

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएका कारण देशलाई फेरि ‘खुलामञ्च’ आवश्यक परेको टिप्पणी गरेका हुन्।

दस वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै उनले खुलामञ्च काठमाडौंको एउटा चौर मात्र नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उनले स्मरण गरे। जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत खुलामञ्चबाट सम्बोधन गरेको चर्चा गर्दै थापाले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर खुलामञ्चले दिएको बताए। कांग्रेसले आफ्नो महाधिवेशनको स्थल खुलामञ्च बनाएर देशभर यस्ता खुला संवादका ठाउँ आवश्यक रहेको सन्देश दिन खोजेको उनको भनाइ थियो।

‘पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ’

सभापति थापाले सबैभन्दा पहिले संसद्भित्रै ‘खुलामञ्च’ आवश्यक रहेको दोहोर्‍याए। संसद् खुला र प्रभावकारी नभएसम्म लोकतान्त्रिक अभ्यास पूर्ण हुन नसक्ने उनले स्पष्ट पारे।

“पहिलो खुलामञ्च कहाँ चाहिएको छ? पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ। संसद् खुला छैन, संसद् बन्द छ,” थापाले भने, “जुन संसद्ले प्रधानमन्त्री बनाएको छ, त्यही संसद्मा प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन भने त्यो दिनसम्म संसद् खुला भएको हुँदैन।”

समुदाय र पुस्ताबीच प्रत्यक्ष संवादको आवश्यकता

थापाले समुदाय, राज्य, नागरिक तथा विभिन्न जाति, धर्म र पुस्ताबीच पनि संवादका लागि खुलामञ्चको अवधारणा आवश्यक रहेको औँल्याए। पहाड र मधेसबीच एकअर्काका बारेमा मात्र कुरा गर्ने परिपाटी अन्त्य गर्दै प्रत्यक्ष संवाद हुनुपर्ने उनले बताए। त्यसैगरी, एक जातिले अर्को जातिसँग र एक धर्मले अर्को धर्मसँग संवाद गर्नुपर्नेमा जोड दिँदै उनले एउटा पुस्ताले अर्को पुस्ताका बारेमा एकलौटी फैसला सुनाउने प्रवृत्तिभन्दा पुस्ताबीचको संवाद अनिवार्य भएको बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस