२०८३ आश्विन १९ गते, सोमबार ११:५३

१५औँ महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प प्रस्ताव

काठमाडौं –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ।

बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन्।

प्रतिवेदनमा कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरणतर्फ अघि बढ्न १५ वटा सार्वजनिक संकल्प प्रस्ताव गरेका छन्।

प्रतिवेदनमा कांग्रेसले व्यक्ति केन्द्रित राजनीति नगर्ने, स्थायी गुटलाई संगठनको आधार नबनाउने र एउटै व्यक्तिले प्रभावका आधारमा पटक–पटक पद दोहोर्‍याउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, विचार र सिद्धान्तलाई अवसरअनुसार परिवर्तन नगर्ने, पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने तथा पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने उल्लेख छ।

कांग्रेसले नागरिकको जनादेशलाई अहंकारमा परिणत नगर्ने र चुनावी घोषणापत्रलाई कार्यान्वयन नगरी बिर्सिने दस्तावेजका रूपमा सीमित नगर्ने संकल्प पनि गरेको छ। कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने प्रतिबद्धता प्रतिवेदनमा छ।

सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने, योग्य युवालाई उमेरकै कारण नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने र समावेशितालाई संख्यामा मात्र सीमित नगर्ने विषयलाई पनि संकल्पमा समेटिएको छ।

त्यसैगरी, योगदानको कदर गर्ने तर त्यसलाई मात्रै योग्यताको आधार नबनाउने तथा क्षणिक स्वार्थभन्दा संस्था, विचार र लोकतान्त्रिक मूल्यलाई माथि राख्ने कांग्रेसको संकल्प छ।

शर्माको प्रतिवेदनमा उल्लेख १५ संकल्पले कांग्रेसभित्रको व्यक्ति केन्द्रित राजनीति, गुटबन्दी, नेतृत्व दोहोरिने प्रवृत्ति, अपारदर्शिता, राजनीतिक संरक्षण र युवाको नेतृत्वमा पहुँच लगायतका विषयलाई सुधारको एजेन्डाका रूपमा अघि सारेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस