काठमाडौं –
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा उपसभापतितर्फ चन्द्र भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
हालसम्म १ हजार २२९ मत गणना हुँदा उपसभापतिको खुला दुई पदमा चन्द्र भण्डारीले ६४३ र ई. मधु आचार्यले ३६२ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीको खुला दुई पदमा प्रदीप पौडेलले ७२३ र अमरसिंह पुन मगरले ४५५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार गणना भएका मतमध्ये १ हजार २२४ मत सदर भएका छन् भने पाँच मत बदर भएका छन्।
उपसभापतिको खुलातर्फ गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।
उपसभापतिको समावेशी समूहअन्तर्गत विनोदकुमार चौधरीले ३५७ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३००, फरमुल्लाह मन्सुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन्।
महामन्त्रीको खुलातर्फ उदयशमशेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।
महामन्त्रीको महिलातर्फ डा. डिला संग्रौला पन्तले ५३६ मतसहित अग्रता लिएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ले ५१३ र रीता खनालले १४७ मत प्राप्त गरेका छन्।
यसअघि पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन्।
मतगणना जारी रहेकाले उपसभापति र महामन्त्रीका अन्य पदको अन्तिम परिणाम आउन बाँकी छ।












