डोल्पा –
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारको सुरक्षा घेरा तोड्दै ८ जना कैदी फरार भएका छन्। कारागारभित्रै सुरुङ खनेर शुक्रबार राति उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
कारागारजस्तो उच्च सुरक्षा निगरानीमा रहने स्थानबाट कैदीहरूले सुरुङ खनेर भाग्न सफल भएपछि कारागारको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको प्रहरी टोली कारागार पुगेको छ। प्रहरीले घटनास्थलको निरीक्षण तथा फरार कैदीहरूको खोजी र घटनाको अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार ८ जना कैदी फरार भएका हुन्। यद्यपि, फरार हुनेहरूको यकिन संख्या, पहिचान र उनीहरू कुन प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका थिए भन्ने विवरण अझै सार्वजनिक भएको छैन।
‘अहिलेसम्म ८ जना फरार भएको जानकारी आएको छ। डीएसपीसहितको टोली कारागार पुगेको छ। कति जना र कोको फरार भएका हुन् भन्नेबारे आधिकारिक विवरण केही समयपछि आउन सक्छ,’ स्रोतले भन्यो।
कारागारभित्र सुरुङ खन्ने काम कहिलेदेखि सुरु भएको थियो, सुरक्षाकर्मीको निगरानी हुँदाहुँदै कैदीहरू कसरी सुरुङ निर्माण गर्न सफल भए र घटनाबारे प्रशासनले समयमै किन थाहा पाएन भन्ने प्रश्नसमेत उठेको छ।
घटनाबारे कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। विस्तृत अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता र सुरक्षा कमजोरीबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।












