२०८३ कार्तिक १५ गते, शनिबार ०९:५८

सल्यानमा भीषण जिप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

सल्यान –

सल्यानमा यात्रुवाहक जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा भएको दुर्घटनामा १० जना घाइते भएका थिए। श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै उद्धार गरिएका सबै १० जनालाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो। उपचारकै क्रममा तीन जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

दुर्घटनामा घाइते भएका सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न जिपका चालक सिद्ध कुमाख गाउँपालिका–२ निवासी ३८ वर्षीय तिलक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस