२०८३ कार्तिक १५ गते, शनिबार १०:०३

डीडीसीमा १२ करोडको अनियमितता : तत्कालीन महाप्रबन्धकसहित ८ कर्मचारी पक्राउ

काठमाडौं –

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको करोडौँ रुपैयाँको आर्थिक अनियमितताको घटना सतहमा आएको छ। संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएर गैरकानुनी लाभ लिएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा योजनाबद्ध रूपमा आर्थिक अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कर्मचारीहरूले पूर्वयोजना बनाएर विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक क्षति पुर्‍याएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।

उक्त गतिविधिबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको आरोप उनीहरूमाथि छ।

पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा रहेका छन्। त्यसैगरी तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि पक्राउ परेका छन्।

यसैगरी संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सीआईबीले पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

सरकारी स्वामित्वको संस्थानभित्रै उच्च तहका अधिकारी र कर्मचारीको मिलेमतोमा यति ठूलो रकमको अनियमितता भएको आरोपले सार्वजनिक संस्थानको आर्थिक सुशासन र व्यवस्थापकीय पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। यद्यपि पक्राउ परेका व्यक्तिहरूमाथिको आरोप अनुसन्धान र न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस