वीरगन्ज-
नेपालमा सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले शुल्क तिर्नुपर्ने व्यवस्था आइतबार (कात्तिक १५) देखि औपचारिक रूपमा सुरु भएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको हो।
नेपालमा पहिलोपटक सञ्चालनमा आएको नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क संकलन सुरु भएसँगै सुरुङमार्गबाट यात्रा गर्ने सवारीसाधनका लागि नयाँ आर्थिक दायित्व थपिएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार टोल शुल्क निर्धारण गरेको थियो। नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाका आधारमा शुल्क लागू गरिएको आयोजनाले जनाएको छ।
आयोजनाले काठमाडौं प्रवेश गर्ने र काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरेको छ।
निर्धारित शुल्कदरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी, मल्टी एक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तथा काठमाडौं उपत्यकाबाट बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।
सुरुङमार्ग निर्माणसँगै छोटो दूरी र समयमै यात्रा गर्न सहज भएको नागढुंगा–सिस्नेखोला मार्गमा शुल्क संकलन सुरु भएपछि अब यात्रुले सुरुङमार्गको सुविधा प्रयोग गरेबापत निर्धारित दस्तुरसमेत तिर्नुपर्ने भएको छ।












