२०८३ कार्तिक १६ गते, आईतवार ११:०३

पुराना दललाई झस्काउँदै रास्वपाको स्थानीय चुनावी तयारी, उम्मेदवार छनोट प्रक्रिया सुरु

वीरगन्ज –

गत प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ सिट हासिल गर्दै राष्ट्रिय राजनीतिमा बलियो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र पारेको छ। नेपाली कांग्रेस, नेकपा एमालेसहितका परम्परागत राजनीतिक दललाई चुनौती दिँदै अघि बढिरहेको रास्वपाले महानगरपालिका र उपमहानगरपालिकाबाट उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको हो।

जनस्तरमा पार्टीप्रति बढ्दो आकर्षण र प्रतिनिधिसभा निर्वाचनको सफलताबाट उत्साहित रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा पनि आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिअनुसार उम्मेदवार छनोटका लागि आवेदन खुला गरेको छ। यसका लागि पार्टीले सातवटा उपसमेतिसमेत गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको सभापतित्वमा बसेको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न सात उपसमिति गठन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिअनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी तथा समावेशिता र महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलतालाई स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्यसहित रास्वपाले संगठन विस्तारसँगै उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाएको देखिन्छ। यसले आगामी स्थानीय निर्वाचनमा पुराना राजनीतिक दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस