२०८३ कार्तिक १६ गते, आईतवार १२:५३

फ्रान्सपछि जर्मनीमा पनि सरकारको नीतिविरुद्ध युवाहरू सडकमा, फ्र्यांकफर्टमा पसल लुटपाटदेखि प्रहरीमाथि पेट्रोल बम प्रहारसम्म

काठमाण्डौ –

बढ्दो महँगी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरकारी लगानीको अभाव, कमजोर सार्वजनिक सेवा र रोजगारीको अनिश्चितताविरुद्ध युरोपेली युवाहरूको असन्तुष्टि सडकमा पोखिन थालेको छ। फ्रान्सपछि जर्मनीमा पनि सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै हजारौँ युवा प्रदर्शनमा उत्रिएका छन्। शनिबार जर्मनीका ३४ सहरमा भएको प्रदर्शनका क्रममा फ्र्यांकफर्टमा हिंसा भड्किएपछि पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरिएको छ।

जर्मनीको आर्थिक केन्द्र मानिने फ्र्यांकफर्टमा प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा, अश्रुग्यास र खुर्सानीको स्प्रे प्रयोग गरेको थियो। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि ढुंगा, बोतल र आतसबाजीका सामग्री प्रहार गरेका थिए।

रोयटर्स र एएफपीका अनुसार फ्र्यांकफर्टको प्रमुख व्यापारिक क्षेत्र जाइलबजारमा नकाबधारी समूहले पसलका सिसा फुटाएर सामान लुटपाट गरेका थिए। कम्तीमा दुईवटा पसलमा लुटपाट भएको र अन्य पसलमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।

लुटपाटको निशानामा बन्दुक बिक्री गर्ने पसलसमेत परेको थियो। उक्त पसलको सिसा फुटाएर हतियार चोरी भएपछि प्रहरीले एक संदिग्धलाई पक्राउ गरी दुईवटा हतियार बरामद गरेको एएफपीले जनाएको छ। जुत्ता तथा अत्तर बिक्री गर्ने पसलमा समेत तोडफोड गरिएको थियो।

हिंसा नियन्त्रणका लागि प्रहरीले फ्र्यांकफर्टका प्रमुख व्यापारिक सडक तथा आसपासका क्षेत्र बन्द गरेको थियो। हाउपटवाखे, कोन्स्टाब्लरवाखे र जाइलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटनामा केही प्रहरी घाइते भएका छन् भने तोडफोड तथा दंगामा संलग्न भएको आशंकामा ३० भन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको जर्मन सञ्चारमाध्यमले जनाएका छन्।‘जेन जी रेगेल्ट’ नामक युवा अभियानको आह्वानमा शनिबार बर्लिन, फ्र्यांकफर्ट, म्युनिख, ह्याम्बर्गलगायत जर्मनीका ३४ सहरमा प्रदर्शन भएको थियो।

प्रदर्शनकारीले विद्यालय तथा विश्वविद्यालयमा सरकारी लगानी बढाउन, शिक्षा र स्वास्थ्य सेवामा बजेट कटौती रोक्न, बढ्दो महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवा लागू गर्ने सरकारी योजनाको विरोध गरेका थिए।

सरकारले सामाजिक सेवा, संस्कृति, स्वास्थ्य र शिक्षाजस्ता जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा खर्च कटौती गरेर त्यसको आर्थिक भार युवामाथि थोपर्न खोजेको उनीहरूको आरोप थियो।

आयोजकहरूले देशभर करिब एक लाख ८२ हजार मानिस प्रदर्शनमा सहभागी हुने अपेक्षा गरेका थिए। तर बर्लिन, म्युनिख र फ्र्यांकफर्टका प्रहरीबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ती तीन सहरमा मात्रै करिब १८ हजार मानिस सहभागी भएका थिए।

शान्तिपूर्ण प्रदर्शनबाट हिंसात्मक झडपसम्म

शनिबार दिउँसो अधिकांश सहरमा प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढेको थियो। तर साँझ परेपछि केही समूहले प्रदर्शनस्थल छाड्न अस्वीकार गरेसँगै अवस्था तनावपूर्ण बनेको थियो।

फ्र्यांकफर्टमा साँझ करिब ६ बजेर २० मिनेटमा प्रहरीले प्रदर्शन समाप्त भएको घोषणा गरेपछि हिंसात्मक गतिविधि बढेको थियो। त्यसपछि प्रहरीमाथि ढुंगा प्रहार, आतसबाजीका सामग्री पड्काउने र सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने क्रम सुरु भएको थियो।

ह्याम्बर्गमा सडक अवरुद्ध गर्न राखिएका बार तथा अन्य सामग्रीमा आगजनी गरिएको थियो। कोलोनमा प्रहरीमाथि बोतल र अन्य वस्तु प्रहार भएको थियो भने बर्लिनमा भएको छुट्टै प्रदर्शनका क्रममा प्रहरीमाथि अण्डा र बोतल प्रहार गरिएको समाचारमा उल्लेख छ।

आन्दोलनमा अतिवादी समूह घुसेको सरकारी दाबी

जर्मनीको हेस्से राज्यका आन्तरिक मामिलामन्त्री रोमन पोसेकले फ्र्यांकफर्टको प्रदर्शनमा करिब एक सय जना पहिचान गरिएका वामपन्थी अतिवादी घुसेको दाबी गरेका छन्। उनीहरूले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको उनको आरोप छ।

संघीय आन्तरिक मन्त्रालयले पनि वामपन्थी अतिवादी तथा विदेशसँग सम्बन्धित केही अतिवादी संगठनले प्रदर्शनलाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने माध्यम बनाउन खोजेको चेतावनी दिएको थियो।

यद्यपि आन्दोलन आयोजकहरूले हिंसात्मक घटनासँग आफ्नो अभियानको कुनै सम्बन्ध नरहेको बताएका छन्। उनीहरूले शान्तिपूर्ण प्रदर्शनको पक्षमा आफूहरू रहेको र तोडफोड तथा हिंसात्मक गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेका छन्।

किन असन्तुष्ट छन् जर्मनीका युवा ?

जर्मनीमा पछिल्लो समय बढ्दो जीवनयापन खर्च, शिक्षा क्षेत्रमा सरकारी लगानीको कमी, सार्वजनिक सेवाको कमजोर अवस्था र रोजगारीको अनिश्चितताले युवाहरूमा असन्तुष्टि बढाएको छ। त्यसमाथि सरकारले अनिवार्य सैन्य सेवाको व्यवस्था अघि बढाउन खोजेपछि युवा पुस्ताको विरोध थप चर्किएको हो।

यही असन्तुष्टिलाई संगठित गर्दै ‘जेन जी रेगेल्ट’ अभियानले युवाहरूलाई सडकमा उतारेको हो। अभियानका प्रवक्ताहरूले शिक्षा र स्वास्थ्य प्रणालीमा पर्याप्त बजेट विनियोजन गर्न तथा सैन्य सेवाको अनिवार्य व्यवस्था हटाउन माग गरेका छन्।

प्रदर्शनमा सहभागी १८ वर्षीय एक युवाले सरकारलाई सम्बोधन गर्दै युवाहरूका समस्या बेवास्ता गरेर बजेट कटौती र आर्थिक भार थप्ने काम भइरहेको आरोप लगाएका थिए।

यसैबीच जर्मनीको राष्ट्रिय विद्यार्थी संगठनले उक्त अभियानबाट आफूलाई अलग राखेको छ। तर अभियानले उठाएका विद्यार्थीका मागलाई अस्वीकार नगरेको स्पष्ट पार्दै संगठनले आगामी नोभेम्बर २० मा छुट्टै राष्ट्रव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ।

युरोपका विभिन्न देशमा बढ्दो महँगी, बेरोजगारी, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासम्बन्धी सरकारी नीतिविरुद्ध युवाहरूको असन्तुष्टि बढिरहेका बेला फ्रान्सपछि जर्मनीमा भएको प्रदर्शनले यो असन्तुष्टि थप फैलिन सक्ने संकेत गरेको छ। जर्मनीको ३४ सहरमा एकैपटक देखिएको युवा आक्रोशले सरकारका आर्थिक प्राथमिकता, सार्वजनिक सेवामा लगानी र नयाँ पुस्ताका अपेक्षाबारे बहसलाई थप चर्काएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस