२०८३ कार्तिक १८ गते, मंगलवार १२:१३

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किए, भारतीय पर्यटकको मृत्यु, न्युजिल्यान्डका नागरिक घाइते

काठमाडौं –

सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने न्युजिल्यान्डका एक नागरिक घाइते भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको छ । घाइते हुनेमा शैलेश कृष्ण पटेल रहेका छन् । उनीसँग भारतीय राहदानी भए पनि न्युजिल्यान्डका नागरिक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै घाइते पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको छ । मृतकको शव भने लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन् । यद्यपि, दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न सकेको छैन ।

हिमाली पर्यटकीय क्षेत्र फेरुचेमा एकैपटक दुई हेलिकप्टर दुर्घटनामा परेपछि घटनाबारे थप अनुसन्धान र विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणसमेत खुल्न बाँकी छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस