२०८३ मंसिर ४ गते, शुक्रबार ३:११

भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, ८ घाइते

काठमाडौँ—

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भइसकेको छ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र सोही ठाउँकी २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन्। चन्द्रनिगाहपुरबाट जिप चढेकी अर्की एक मृतक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो।

घाइतेहरूको विवरण: दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ घाइते भएका छन्। त्यस्तै, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन र १९ वर्षीय बय हाङ रानामगरसहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरी चौकी भैंसेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस