वीरगन्ज —
वीरगन्जभन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
कार्यालयले गत कात्तिकमा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी अर्थात् १७ अर्ब ७९ करोड रुपैयाँ सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो।
कार्यालयका अनुसार कात्तिक महिनामा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न र फलामलगायतका व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व उठेको हो।
वीरगन्ज भन्सारले गत भदौ महिनादेखि नै लगातार मासिक लक्ष्य पार गर्दै आएको छ। यसअघि असोज महिनामा मात्रै कार्यालयले २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार हालसम्म कार्यालयले चालु आर्थिक वर्षको कुल वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ।












