२०८३ मंसिर ४ गते, शुक्रबार ३:११

बंगलादेशमा फेरि चर्कियो राजनीतिक तनाव : बम विस्फोट, युनुसको पैतृक घरमा आगजनी र ५६५ पक्राउ

काठमाडौँ —

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको समर्थनमा गार्मेन्ट उद्योगका मजदुरसहित ठूलो संख्यामा समर्थक सडकमा उत्रिएपछि राजनीतिक तनाव पुनः चर्किएको छ। हसिनाको नेतृत्वमा रहेको प्रतिबन्धित अवामी लिगले बिहीबारदेखि ‘लकडाउन’ आह्वान गरेपछि देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन्।

ढाकामा बम विस्फोट र गोपालगञ्जमा झडप

राजधानी ढाकाका विभिन्न स्थानमा मध्यरातमा घरेलु बम विस्फोट भएका छन्। यस्तै, शेख हसिनाको गृह जिल्ला दक्षिणपश्चिमी गोपालगञ्जमा अवामी लिगका सयौँ कार्यकर्ता धारिलो हतियार र भालासहित सडकमा उत्रिएर हिंसात्मक प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा आगजनी गर्नुका साथै प्रहरी चौकीमा समेत तोडफोड गरेका छन्। झडपका क्रममा कम्तीमा चार जना घाइते भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ।

युनुसको पैतृक घर र ग्रामीण बैंकमा आगजनी

प्रदर्शनकारीले पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा आगो लगाइदिएका छन् भने देशका विभिन्न स्थानमा रहेका युनुससम्बद्ध ग्रामीण बैंकका शाखाहरूमा समेत आगजनी गरेका छन्। यता, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सँग आबद्ध समूहले पनि राति ढाकामा अवामी लिगका दुई नेताको घरमा आक्रमण गरी आगजनी गरेको समाचारमा उल्लेख छ।

किन चर्कियो आन्दोलन?

गत वर्ष विशेष न्यायाधिकरणले शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। सोही फैसलाको वार्षिकोत्सवको अवसर पारेर अवामी लिगले लकडाउन आह्वान गरेपछि तनाव बढेको हो।

सुरक्षा व्यवस्था कडा, पूर्वमन्त्रीसहित ५६५ पक्राउ

हिंसात्मक घटनालाई नियन्त्रण गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। ढाकाका प्रमुख फ्लाइओभर र शहर प्रवेश गर्ने नाकाहरूमा जाँच कडा पारिएको छ भने संवेदनशील जिल्लाहरूमा सीमा सुरक्षा बल (बीजीबी) का हजारौँ जवान परिचालन गरिएको छ।

बीडीन्युज २४ का अनुसार लकडाउनअघि प्रहरीले ढाकामा २४ घण्टे विशेष अभियान चलाएर ५६५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हसिना मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन्। उनलाई बुधबार मध्यरातमा ढाकास्थित निवासबाट पक्राउ गरिएको हो। पछिल्लो घटनाक्रमसँगै बंगलादेशमा राजनीतिक ध्रुवीकरण थप बढ्दै गएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस