काठमाडौँ —
वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका उनीहरूलाई बिहीबार अदालतमा उपस्थित गराएकोमा अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको हो।
को–को छन् म्याद थप भएकाहरू?
हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउनेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पनि म्याद थप गरिएको छ।
के हो आरोप?
सीआईबीका अनुसार उनीहरूमाथि वैदेशिक रोजगारीमा जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ। नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङ मलेसिया पठाउने निर्णयमा उनीहरूको मुख्य भूमिका रहेको प्रहरीको आशंका छ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराएको तथा पद र जिम्मेवारीको दुरुपयोग गर्दै संगठित समूहलाई लाभ पुर्याएको अभियोगमा उनीहरूमाथि छानबिन भइरहेको छ। सीआईबीले पक्राउ परेका सबैजनाविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।











