काठमाडौँ-
न्युरोड टिम (एनआरटी) फ्रेण्ड्स क्लवलाई हराउँदै सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
दशरथ रंगशालामा आईतवार भएको अन्तिम क्वार्टरफाइनलमा एनआरटीले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी फ्रेण्ड्सलाई ३–१ को गोलअन्तरमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । यससँगै सेमिफाइनलमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । यसअघि संकटा, मच्छिन्द्र र आयोजकको टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा एनआरटी एकपक्षीय रूपमा हाबी भयो । एनआरटीका अञ्जन बिष्टको दुई गोल र रिचर्ड विल्सनले एक गोल गरे । फ्रेण्ड्सका विजय पौडेलले एक गोल गरे । त्यसअघि खेलको १८ औं मिनेटमा एनआरटीले पहिलो अवसरमा नै गोल ग¥यो ।
अञ्जन बिष्टको गोलबाट एनआरटीले अग्रता लिएको हो । पेनाल्टी बक्सको लेफ्ट साइडबाट एन्जल महर्जनले दिएको उत्कृष्ट क्रसलाई अञ्जनले वान टचमा गोल गरेका हुन् । एक मिनेट पछि नै फ्रेण्ड्सका आशिष सुनामले पेनाल्टी बक्सबाटै गरेको प्रहार एनआरटीका गोलकिपर विशाल सुनारले सफल हुन दिएनन् । आशिष चापागाईको पासमा सुनामले एक डिफेन्डरलाई छक्याउँदै गरेको प्रहारलाई विशालले रोकेका हुन् । तर २३ औं मिनेटमा अञ्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए । कृतिषरत्न छुन्जुले राइट साइडबाट दिएको बललाई अञ्जनले हेडमार्पmत जाली चुमाएका हुन् ।

२९औं मिनेटमा फ्रेण्ड्सका आशिष सुनामले करिब २५ यार्डबाट गरेको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो । एनआरटीले ३६औं मिनेटमा तेस्रो गोल गर्ने अवसर गुमायो । अञ्जन विष्टको पासमा हेनरी पोकु पेनाल्टी बक्सबाट गोल गर्न असफल भए । उनको प्रहार फ्रेण्ड्सका गोलकिपर अभिषेक बरालले पन्च गर्दै रोके । फ्रेण्ड्सले पहिलो हाफ सकिन लाग्दा अवसर सिर्जना गरे पनि सफल भएन । पहिलो हाफमा एनआरटीले २–० को अग्रता लियो । दोस्रो हाफको शुरुमा नै एनआरटीले तेस्रो गोल गर्दै फ्रेण्ड्समाथि दबाब बढायो । ४७ औं मिनेटमा रिचर्डले एनआरटीको अग्रता ३–० ले अगाडि बढाएका हुन् ।
करिब ३५ यार्डबाट रिचर्ड विल्सनले बल ड्रिब्लिङ गर्दै एकल प्रयासमा गोल गरे । फ्रेण्ड्सका तीन खेलाडीलाई छक्याएका रिचर्डले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै बललाई जाली चुमाएका हुन् । ५६औं मिनेटमा फ्रेण्ड्सका आशिष चापागाईंले गरेको फ्रिकिक एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए । ६४औं मिनेटमा एनआरटीका अञ्जनका ह्याट्रिक गर्ने प्रयास सफल भएन । उनले पेनाल्टी बक्सबाट बाहिरबाट गरेको सशक्त प्रहार फ्रेण्ड्सका गोलकिपर अभिशेक बरालले पन्च गर्दै बाहिर पठाए । लगत्तै एनआरटीका रिचर्डको फ्रिकिक बललाई पेनाल्टी बक्सभित्र रहेका पोकुको हेड फ्रेन्ड्सका गोलकिपर अभिशेकले पन्च गर्दै अर्को संकट टारे ।
७९ औं मिनेटमा एनआरटीका एन्जल श्रेष्ठले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार लेफ्ट फुटेट सट फ्रेण्ड्सका गोलकिपर अभिशेकले नै रोके । ७९ औं मिनेटमा फ्रेण्ड्सका विजय पौडेलले गर्दै गोलअन्तर ३–१ मा छोट्याए । डोकु इजरायलको थ्रु पास नियन्त्रणमा लिएका विजयले एनआरटीका नरेन चौधरीलाई छक्याउँदै बललाई जाली चुमाए । यो गोलपछि फ्रेण्ड्सले खेलमा फर्कने प्रयास जारी राख्यो । ८७ औं मिनेटमा विक्रान्त नरसिंह राणाले फ्रेण्ड्सको दोस्रो गोल गर्ने अवसर खेर फाले । आशिष चापागाईंले लेफ्ट साइडबाट दिएको बललाई पेनाल्टी बक्समा अनमार्क विक्रान्तको हेडर सही दिशामा रहन सकेन ।
अतिरिक्त समयमा फ्रेण्ड्सका दीपेश घलेले पनि एनआरटीका गोलकिपर विशालसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने अवसर गुमाए । त्यससँगै थप गोल अवसर सिर्जना हुन सकेन र एनआरटीले फ्रेण्ड्समाथि ३–१ को जित निकाल्यो ।