२०८३ बैशाख २ गते, बुधबार ०७:०८

कलैयामा पुनःस्थापना केन्द्रमा कुटपिट गरी युवकको हत्या, फरार अभियुक्तलाई पक्राउ गर्न माग

पर्सा-

कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका ३२ वर्षीय प्रदीपप्रसाद मण्डललाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरिएको छ। घटनाका दुई फरार अभियुक्तलाई चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न मृतकका परिवारजनले माग गरेका छन्।

मृतकका दाजु श्यामप्रसाद धानुकले कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फरार अभियुक्तलाई चाँडो पक्राउ गर्न माग गर्दै भने, “दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ। माघ १७ गते नवजन्म पुनःस्थापना केन्द्रमा भाइलाई राखेका थियौं।” उनले घटनासँग जोडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको आरोप लगाउनुभयो।

प्रहरी अनुसार, पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुर र अन्य एक जना सम्पर्कविहीन रहेका छन्। अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगरेपछि केन्द्रका परामर्शदातासहितले सामूहिक रूपमा कुटपिट गरेको प्रहरीले जनाएको छ। यसै कुटपिटका कारण प्रदीप मण्डलको फागुन १ गते राति मृत्यु भएको हो।

बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भने, “मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ। मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ। मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ।” मृतकलाई दुई साताअघि परिवारले सुधार केन्द्रमा राखेका थिए।

पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। कुटपिट गरिरहेको सिसीटिभी फुटेज प्रहरीले सुरक्षित राखेको छ, जसमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ।

पक्राउ परेकामा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ र वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुर रहेका छन्।

यसैबीच, मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए। मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो। मृतकको दुई छोरी र एक छोरा छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस