२०८३ कार्तिक १६ गते, आईतवार ११:०४

बाराको गोली प्रहार प्रकरणमा छानबिन सुरु, प्रहरी निरीक्षक जिम्मेवारीबाट हटाइए

वीरगन्ज –

बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीले चलाएको गोलीबाट स्थानीय युवक घाइते भएपछि मधेश प्रदेश प्रहरीले घटनाको छानबिन सुरु गरेको छ। घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गर्नुका साथै सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षकको जिम्मेवारीसमेत खोसेको छ।

घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई जतिसक्दो चाँडो घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडप उग्र बनेपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन्।

प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए। आक्रोशित प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गर्नुका साथै नवनिर्मित अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए।

घटनापछि सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ। उनलाई उक्त कार्यालयबाट तानिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ।

गोली चल्नुपर्ने अवस्था कसरी सिर्जना भयो, प्रहरीको बल प्रयोग आवश्यक र औचित्यपूर्ण थियो वा थिएन तथा झडप नियन्त्रणमा सुरक्षा निकायबाट कमजोरी भयो कि भएन भन्ने विषय अब छानबिनको दायरामा आउने देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस