धनुषा –
मधेस प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ। प्रतिपक्षी दलहरूले यो माग राख्दै प्रदेशसभा बैठक लगातार अवरुद्ध गरेपछि सर्वदलीय बैठकले गतिरोध हटाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। सभामुख रामचन्द्र मण्डलका अनुसार समितिको गठन प्रक्रिया चैत २६ गते बस्ने प्रदेशसभा बैठकपछि अघि बढाइनेछ।
चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने र मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिएपछि समिति गठन गरिने सहमति भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि यो निर्णयको पुष्टि गरे। यसअघि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउन दुई पटक बसेका सर्वदलीय बैठक निष्कर्षविहीन भएका थिए।
प्रतिपक्षी दल जसपा र माओवादी केन्द्रले चैत १० गतेको बैठकमा मन्त्रीहरूको योजनाको खरिदबिक्री, मुख्यमन्त्री सतिशकुमार सिंहको कूटनीतिक मर्यादाविपरीत भारत भ्रमण र सशर्त अनुदानको विषयमा छानबिनको माग राखी सदन अवरुद्ध गरेका थिए। जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले तेस्रो सर्वदलीय बैठकले छानबिन समिति गठन गर्ने सहमति जुटाएको जानकारी दिए।