२०८३ आश्विन १३ गते, मंगलवार १९:४१

पार्टी नीतिविपरीत गतिविधि गर्नेलाई अब क्षमा छैन: एमाले अध्यक्ष ओली

काठमाडौँ —

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही गरिने चेतावनी दिएका छन्।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिहरूलाई क्षमा गरिए पनि अब त्यस्तो छुट नदिइने स्पष्ट पारेका हुन्। पार्टी केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव पोखरेलले गरेका थिए।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीको नीतिविरुद्ध जाने, अराजकता फैलाउने तथा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोसुकैलाई कडा कारबाहीको दायरामा ल्याइने चेतावनी दिए। अब कोराकोर र हानहान गर्ने बेला नभएको बताउँदै उनले आगामी वैशाखमा हुने स्थानीय निर्वाचन र संगठन निर्माणमा एकल ध्यान केन्द्रित गर्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।

राजधानी वा सुविधाजनक स्थानमा बसेर जिम्मेवारी पूरा नहुने प्रस्ट पार्दै उनले नेताहरूलाई आ–आफ्नो कार्यक्षेत्रमै खटिन र जनतामाझ पुगेर भरोसा जगाउन आग्रह गरे। साथै, अब नेता तथा कार्यकर्ताहरूको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र क्षमताको कसीमा मात्र हुने उनले बताए। देशलाई पछाडि धकेल्ने र संवैधानिक प्रक्रिया मिच्ने प्रयासहरू भइरहेको दाबी गर्दै ओलीले त्यसलाई रोक्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। अन्य दलसँगको एकताको चर्चा गर्नु समयको बर्बादी हुने बताउँदै उनले आवश्यकताअनुसार चुनावी तालमेल वा कार्यगत एकता मात्र गर्न सकिने धारणा राखेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस