२०८२ बैशाख १३ गते, शनिबार २३:१२

वीरगन्ज –

वीरगन्जमा आजदेखि ‘टु द भीआर’ क्रिकेट टुर्नामेन्टको धमाकेदार सुरुवात भएको छ ।

सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा सुरु भएको यो प्रतियोगिताको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ । पर्सा क्रिकेट संघ (क्यान) का अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सदस्य रितेश झा, प्रेस सेन्टर नेपाल पर्साका सदस्य अनिल ओझालगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आयोजक क्लबका अनुसार, प्रतियोगितामा महानगरपालिकाका विभिन्न वडाबाट मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाइट राइडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे गरी ६ टोलीले सहभागिता जनाएका छन् ।

उद्घाटन खेलमा मुरली नाइट राइडर्सले ब्रेभ रिबेल्सलाई ४० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । १६ ओभरको खेलमा टस जितेर पहिले बलिङ रोजेको ब्रेभ रिबेल्सविरुद्ध मुरली नाइट राइडर्सले १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ब्रेभ रिबेल्स भने १०.५ ओभरमा मात्र ६७ रन बनाउँदै अलआउट भयो ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको र कुल १६ लिग खेलपछि प्लेअफ चरणका खेलहरू हुने आयोजकले जनाएको छ । क्लबका विक्की महतोका अनुसार, यो क्रिकेट महोत्सव आगामी अप्रिल १५ (वैशाख २, २०८२) सम्म चल्नेछ । स्थानीय स्तरमा क्रिकेटको उत्साह बढाउन र युवाहरूलाई खेलप्रति प्रोत्साहन गर्न आयोजित यो प्रतियोगिताले वीरगन्जमा ठूलो चर्चा कमाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस