पर्सा –
जिल्ला पर्साकोवीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगन्ज भन्सार कार्यालयको परिसर बाहिर त्रिभुवन राजपथ सडकखण्डमा सशस्त्र प्रहरीले सुनको गरगहना, सुनका टुक्राहरू र चाँदीको मूर्तिसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल प्रान्त, पश्चिम मेदिनीपुर जिल्लाको किशोरनगर बस्ने ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ बस्ने २५ वर्षीय अमित दास रहेका छन्।
सशस्त्र प्रहरीको चेकपोइन्ट ड्युटी टोलीले नेपालबाट भारततर्फ जाने सवारी साधन र व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक गंग बहादुर वि.क.को नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट सुनको झुम्का २ सेट (अन्दाजी ८२ लाल), रिङ्ग १ सेट (अन्दाजी ३० लाल), सिक्री लकेट १ थान (अन्दाजी ३० लाल), सुनको गणेश-लक्ष्मी मूर्ति अङ्कित लकेट १ थान (अन्दाजी ४ लाल) र सुनका टुक्राहरू (अन्दाजी १ तोला) गरी जम्मा २ तोला ६६ लाल सुन बरामद गरेको छ। यस्तै, चाँदीको लक्ष्मी मूर्ति (अन्दाजी २ तोला) पनि फेला परेको छ।
सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले दिएको जानकारीअनुसार, पक्राउ परेका व्यक्तिहरूले ग्राहकको अर्डरमा सुन लिई भागेको सूचनाको आधारमा यो कारबाही गरिएको हो। यो घटनामा भक्तपुरको ठिमी नगरपालिका-१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल सञ्चालन गर्ने भक्त गदाल वि.क., काठमाडौं महानगरपालिका-३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स सञ्चालन गर्ने श्रवण घिमिरे र काठमाडौं महानगरपालिका-३२, जडिबुटीमा सुन बनाउने कारखाना सञ्चालन गर्ने भारतको पश्चिम बङ्गाल, हुगली जिल्लाको नन्दपुर बस्ने बटु रंगसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सौमेन गुचैट र अमित दासलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी ईनरुवामा पठाइएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। यो घटनाले सीमा क्षेत्रमा सुनचाँदीको अवैध कारोबारमा संलग्न गिरोहको सक्रियता रहेको संकेत गरेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।