२०८३ बैशाख ७ गते, सोमबार ०३:४१

‘छेपारो प्रवृत्ति’ को आरोप लगाउँदै वीरगन्जका युवाहरूद्वारा उम्मेदवार प्रदीप यादवको चर्को विरोध

वीरगन्ज –

नेकपा (एमाले) मा हालै प्रवेश गरी पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री प्रदीप यादवको वीरगन्जका युवाहरूले चर्को विरोध गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १६ का युवाहरूले उम्मेदवार यादवको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।

नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका यादवलाई नगवा र मुर्लीका युवाहरूले अवरोध पुर्‍याउँदै नाराबाजी गरेका थिए। चुनावैपिच्छे पार्टी परिवर्तन गर्ने र मधेसी युवाहरूको भावनालाई भजाएर पटक–पटक मन्त्री बनेको तर क्षेत्रको हितमा काम नगरेको स्थानीय युवाहरूको आरोप छ।

“कालो हाँडीले हान्ने धम्की उनैलाई भारी”

नगवाका युवाहरूले ‘गप्यखबर’ सँग कुरा गर्दै विगतमा एमालेलाई ‘मधेस विरोधी’ दल भन्दै चर्को भाषण गर्ने यादव अहिले व्यक्तिगत स्वार्थका लागि सोही पार्टीमा प्रवेश गरेपछि आफूहरू ठगिएको महसुस गरेको बताए। विगतमा एमाले नेताहरू भोट माग्न आउँदा ‘कालो हाँडी’ (करिँख्या लागेको हाँडी) ले प्रहार गर्न महिलाहरूलाई उक्साउने यादवलाई नै अहिले नगवाबासीले सोही हाँडीले स्वागत गर्ने तयारी गरेको स्थानीयले बताएका छन्।

राजनीतिक यात्रा र आरोपको शृङ्खला

मधेसवादी दलका तर्फबाट पर्सा–१ बाट दुई पटक निर्वाचन जितेका यादव पार्टी फुटाउँदै र परिवर्तन गर्दै तीन पटक संघीय सरकारमा मन्त्री भइसकेका छन्। मधेसी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका यादव पहिलो संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियासँग पराजित भएका थिए।

उनका विरोधीहरूले यादवमाथि ६ महिने मधेस आन्दोलनका क्रममा पेट्रोलियम पदार्थको तस्करी गराएको आरोप समेत लगाउने गरेका छन्। यस्तै, वीरगञ्जका मेयर राजेशमान सिंहले विगतमा पत्रकार सम्मेलन नै गरेर यादवमाथि गम्भीर आरोप लगाएका थिए। सिंहले तत्कालीन प्रहरी उपरीक्षक दिवेश लोहनी र यादवबीचको ‘कल डिटेल्स’ सार्वजनिक गर्दै निर्दोष मधेसी युवाहरूको हत्या गराउन र औद्योगिक कोरिडोरबाट चन्दा असुली गर्न यादवको हात रहेको दाबी गरेका थिए।

अवसरवादी भएको पुराना नेताहरूको दाबी

तत्कालीन मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष शशिकपुर मियाँले यादवलाई ‘चरम अवसरवादी’ को संज्ञा दिएका छन्। राप्रपामा रहेका यादवलाई फोरममा प्रवेश गराएको ६ महिना नबित्दै षड्यन्त्रपूर्वक आफूलाई अध्यक्षबाट हटाई पार्टी कब्जा गरेको मियाँले बताउँदै आएका छन्।

विगतमा यादवले प्रदर्शन गरेको व्यवहार र पछिल्लो राजनीतिक कदमबाट रुष्ट युवाहरूले विरोध गरेपछि अहिले उनलाई चुनावी कार्यक्रममा सुरक्षा दिन प्रहरीले अतिरिक्त श्रम खर्चिनुपरेको छ। स्थानीयका अनुसार यादवले विगतमा रोपेको ‘हिंस्रक सोचको खेती’ ले अहिले उनैलाई पोल्न थालेको छ।

पोडकास्ट सुन्नुहोस