२०८३ मंसिर ३ गते, बिहीबार ३:०१

आईजीपी हटाउने सरकारी निर्णयलाई दानबहादुरको चुनौती, रिट आज पौडेलको इजलासमा

काठमाडौं –

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।

गत कात्तिक १८ गते सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्। उनले सरकारको निर्णय बदर गर्न मागसहित रिट निवेदन दायर गरेका थिए।

तिहार र छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजको मिति तोकेको हो।

सरकारको प्रहरी नेतृत्व परिवर्तन गर्ने निर्णयलाई निवर्तमान आईजीपीले अदालतमा चुनौती दिएपछि प्रहरी नेतृत्व फेरबदलसम्बन्धी विवाद अब न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। आजको सुनुवाइले रिटको आगामी प्रक्रिया र विवादले लिने कानुनी बाटोबारे दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस