वीरगन्ज-
मुलुकभर नयाँ वर्ष २०८३ को उत्साह छाइरहँदा मधेश प्रदेशका लागि भने बिदा भएको वर्ष २०८२ राजनीतिक उथलपुथल, सामाजिक आन्दोलन र सत्ता समीकरणको लुकामारीमा केन्द्रित रह्यो । विशेषगरी राजनीतिक ध्रुवीकरण र संसदीय निर्वाचनको अप्रत्याशित परिणामले यो वर्ष मधेशको इतिहासमा एउटा भिन्नै अध्यायका रूपमा अंकित भएको छ ।
राजनीतिक कम्पन: रास्वपाको उदय र सत्ताको फेरबदल
वर्ष २०८२ को सबैभन्दा ठूलो राजनीतिक घटना फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन बन्यो । मधेश केन्द्रित दलहरूको पकड मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित वर्चश्व कायम गर्यो । मधेशका ३२ सिटमध्ये ३० सिटमा रास्वपाले क्लिन स्वीप गरेपछि क्षेत्रीय दलहरू अस्तित्वको संकटमा पुगेका छन् । सोही निर्वाचनको लहरसँगै मधेशी मूलका बालेन्द्र साह मुलुकको प्रधानमन्त्री बन्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रदेश सरकारको नेतृत्वमा पनि यो वर्ष निकै अस्थिरता देखियो । ‘जेन–जी’ आन्दोलनको प्रभावका कारण जनमत पार्टीका सतीश कुमार सिंह नेतृत्वको सरकार ढल्यो । त्यसपछि नेकपा एमालेका सरोजकुमार यादव २५ दिनका लागि मुख्यमन्त्री बने पनि विश्वासको मत पाउन सकेनन् । लगतै लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बने, तर माओवादी केन्द्रको आन्तरिक कलहका कारण उनको सरकार पनि टिकेन । हाल नेपाली कांग्रेसका कृष्ण प्रसाद यादवले सरकारको नेतृत्व गरिरहेका छन् । यसै वर्ष सभामुखमा राम अशिष यादव र प्रदेश प्रमुखमा डा. सुरेन्द्र लाल कर्णको नियुक्ति समेत भयो ।
सामाजिक मुद्दा: नागरिकता र शिक्षामा सडक संघर्ष
सामाजिक क्षेत्रमा यो वर्ष नागरिकताको मुद्दा सबैभन्दा पेचिलो बन्यो । नागरिकता अभावमा उच्च शिक्षा र रोजगारीबाट वञ्चित युवाहरूले सडक आन्दोलन नै चर्काउनु पर्यो । शिक्षा र स्वास्थ्यमा पूर्वाधार विकासका कुरा उठे पनि गुणस्तर र जनशक्तिको अभाव भने कायमै रह्यो ।
आर्थिक अवस्था: कृषिमा संकट र बढ्दो महँगी
कृषि प्रधान प्रदेश भए तापनि किसानहरूले वर्षभरि नै मल, बीउ र सिँचाइको समस्या झेल्नुपर्यो । समयमा मल नपाउँदा उत्पादनमा ह्रास आयो । वर्षको अन्त्यतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बजारमा छाएको महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ । स्थानीय युवा मनोज साह भन्छन्, “महँगी र भाडावृद्धिले सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ, जसले गर्दा नयाँ वर्षको उत्साहमा पनि छाया पारेको छ ।”
पूर्वाधार र प्राकृतिक विपद्
पूर्वाधारतर्फ केही सडक आयोजना सम्पन्न भए पनि धेरैजसो योजनाहरू राजनीतिक अस्थिरता र समन्वयको अभावमा अलपत्र परे । वर्षायाममा दोहोरिने बाढी र डुबानको समस्याले यो वर्ष पनि हजारौँ परिवारलाई विस्थापित बनायो, जसले दीर्घकालीन समाधानको आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।
सांस्कृतिक सद्भाव र आगामी बाटो
चुनौतीका बीच पनि मिथिला र भोजपुरा संस्कृतिको जगेर्नाका लागि विभिन्न महोत्सव र मेलाहरू आयोजना भए, जसले सामाजिक सद्भावलाई कायम राख्न मद्दत पुर्यायो ।
समग्रमा, २०८२ साल मधेशका लागि राजनीतिक संक्रमण र जनआक्रोशको वर्ष रह्यो । नयाँ वर्ष २०८३ मा स्थिर सरकार, प्रभावकारी नीति र जनमुखी विकासले प्राथमिकता पाउनेमा प्रदेशबासीले आशा राखेका छन् ।













