२०८३ बैशाख १३ गते, आईतवार ११:०५

गोलीको आवाजले हल्लियो कार्यक्रम, ट्रम्प र मेलानिया सुरक्षित स्थानमा सारिए

 काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रम अचानक त्रासपूर्ण बनेको छ। ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनर कार्यक्रम चलिरहेकै बेला गोली चलेजस्तो आवाज सुनिएपछि हलमा अफरातफरी मच्चिएको थियो।

ट्रम्प मञ्चमा उभिएर सम्बोधन गरिरहेका बेला एक्कासि उपस्थितहरूको ध्यान भंग भयो। हलचल बढ्दै जाँदा उनी केही क्षणका लागि रोकिए ,त्यत्तिकैमा ‘पड्किएको’ आवाज गुञ्जियो। त्यसपछि स्थिति झनै संवेदनशील बनेको थियो।

क्षणभरमै अमेरिकी गुप्तर विभागका सुरक्षाकर्मीहरू सक्रिय बने। “तल बस्नुहोस्, तल बस्नुहोस्” भन्दै उनीहरूले राष्ट्रपति ट्रम्पलाई मञ्चबाट तत्काल बाहिर लगे। सोही क्रममा प्रथम महिला मेलानिया ट्रम्प लाई पनि सुरक्षित स्थानमा सारिएको थियो।

घटनास्थलमा उपस्थित धेरैजसो पाहुनाहरू त्रसित हुँदै भुइँमा निहुरिएर बसेका थिए। ट्रम्पका निकट सल्लाहकार स्टेफेन मिलरलाई समेत सुरक्षाकर्मीहरूले भीडबाट हतारहतार बाहिर निकालेका थिए।

एफपीका अनुसार घटनामा संलग्न आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। तर उनी को हुन् भन्ने खुल्न सकेको छैन, साथै कुनै घाइतेको विवरण पनि सार्वजनिक भएको छैन।

यता बिबिसीका अमेरिकी साझेदार सिबिएस न्युजले जनाएअनुसार, राष्ट्रपति र प्रथम महिलालाई सुरक्षित स्थानमा लगिएपछि काउन्टर असल्ट टिम (सीएटी) का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर हलको पछाडितर्फ बन्दुक तेर्स्याउँदै सुरक्षा घेरा बनाइरहेका देखिएका थिए।

त्यसबीच सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि टेबल र ढलेका कुर्सीहरू नाघ्दै अर्को कोठातर्फ लगेका थिए। केहीबेर तनावपूर्ण बनेको वातावरण बिस्तारै सामान्यतर्फ फर्किएको थियो।

घटनाको केही समयपछि मञ्चमा आएका एक वक्ताले डिनर कार्यक्रम पुनः सुरु हुने घोषणा गरेसँगै कार्यक्रम फेरि अघि बढाइएको थियो।

पोडकास्ट सुन्नुहोस