२०८३ बैशाख १३ गते, आईतवार १०:५९

मनोहरामा डोजरको गर्जन, सुकुम्वासी बस्ती भत्किन थाले

भक्तपुर –

मनोहरा खोला किनारको सुकुम्वासी बस्ती आइतबार बिहानैदेखि तनावपूर्ण दृश्यमा बदलिएको छ। अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने अभियान सुरु भएसँगै डोजरको गर्जन र सुरक्षाकर्मीको कडा घेराबीच बस्ती खाली गराउने काम अघि बढाइएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का का अनुसार, करिब १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी खटाएर बस्ती हटाउने कार्य सुरु गरिएको छ। बिहान ९ बजेसम्म बासिन्दालाई आफैं संरचना हटाउन समय दिइएको थियो, तर त्यसपछि काठमाडौँ महानगरपालिका को डोजर टोली परिचालन भएसँगै भत्काउने काम तीव्र बनाइएको हो।

“अधिकांश घरटहराबाट सामान निकालेर खाली बनाइसकिएको छ, त्यसैले अब संरचना हटाउने काम अघि बढाइएको छ,” प्रहरी उपरीक्षक खड्काले बताए।

करिब ७ सय ७७ घरटहरा रहेको उक्त बस्तीमा यसअघि नै शनिबार साँझ सात वटा पक्की घर भत्काइएको थियो। तर सो क्रममा स्थानीयको प्रतिरोध चर्किएको थियो। झडपका बीच केही सुकुम्वासीले आक्रमण गर्दा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

आज भने सुरक्षाको कडा घेराबीच बस्ती क्रमशः खाली गराउँदै संरचना हटाउने काम जारी छ। यो घटनाले सुकुम्वासी व्यवस्थापन र शहरी अतिक्रमणको मुद्दालाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ।

पोडकास्ट सुन्नुहोस