२०८३ बैशाख १३ गते, आईतवार १९:१२

अमेरिका–इरान युद्धको असर देखिन थाल्यो, वीरगन्ज नाकाबाट खाना पकाउने एलपीजी ग्यास र मट्टितेलको आयात घट्दै

वीरगन्ज-

मध्यपूर्वमा भइरहेको अमेरिका–इरान युद्धको नकारात्मक प्रभाव वीरगन्ज नाकाबाट हुने खाना पकाउने एलपीजी ग्यास र मट्टितेलको आयातमा देखिन थालेको छ ।

नेपालका लागि ७० प्रतिशतभन्दा बढी इन्धन आपूर्ति गर्ने वीरगन्ज नाकाबाट ग्यासको आयात ६ प्रतिशत र मट्टितेलको आयात १८ प्रतिशतले खुम्चिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको नौ महिनामा वीरगन्ज नाकाबाट २७ अर्ब ३४ करोड रुपैयाँको २ लाख ३८ हजार २९६ मेट्रिक टन ग्यास र ४७ करोड रुपैयाँको ५ हजार १६० किलो लिटर (केएल) मट्टितेल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३ करोड रुपैयाँको २ लाख २४ हजार ८७६ मेट्रिक टन ग्यास र ३७ करोड रुपैयाँको ४ हजार २०८ केएल मट्टितेल आयात भएको छ ।

समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षमा १३ हजार ४२० मेट्रिक टन खाना पकाउने ग्यासको आयात कम भएको छ भने ९१५ केएल मट्टितेलको आयात घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकाबाट नेपालका लागि हुने एलपीजी ग्यास र मट्टितेलको आयातमा कमी आएको भए पनि डिजेल, पेट्रोल र हवाई इन्धनको आयात भने बढेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार समीक्षा अवधिको तुलनामा डिजेलको आयात करिब २ प्रतिशत, पेट्रोलको आयात ११ प्रतिशत र हवाई इन्धनको आयात ३ प्रतिशतले बढेको छ । मध्यपूर्वमा भएको युद्धका कारण इन्धन आयातमा कमी आउन सक्ने सम्भावना भए पनि हाल आपूर्तिमा कुनै समस्या नभएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको नौ महिनामा वीरगन्ज नाकाबाट नेपालका लागि ७१ अर्ब १९ करोड रुपैयाँको ७ लाख ९८ हजार ५४३ किलो लिटर डिजेल, २८ अर्ब ४१ करोड रुपैयाँको ३ लाख २६ हजार ७०२ किलो लिटर पेट्रोल र १२ अर्ब ५९ करोड रुपैयाँको १ लाख ३८ हजार २४ किलो लिटर हवाई इन्धन आयात भएको थियो । सोही अवधिमा चालु आर्थिक वर्षमा ७८ अर्ब ८९ करोड रुपैयाँको ८ लाख ८ हजार ७४५ किलो लिटर डिजेल, ३१ अर्ब ८ करोड रुपैयाँको ३ लाख ५९ हजार ८४३ किलो लिटर पेट्रोल र १४ अर्ब ४ करोड रुपैयाँको १ लाख ४१ हजार ४१९ किलो लिटर हवाई इन्धन आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षमा १० हजार २०२ किलो लिटर डिजेल, ३३ हजार १४१ किलो लिटर पेट्रोल र ३ हजार ३९५ किलो लिटर हवाई इन्धन बढी आयात भएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस