काठमाडौँ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शनिबार विशेष भेटवार्ता भएको छ। शनिबार भएको उक्त भेटघाटका क्रममा नेपाल र अमेरिकाबीचको आपसी आर्थिक साझेदारीलाई कसरी थप सुदृढ र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको थियो।
भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विशेष दूत गोरले नेपालको वर्तमान राजनीतिक अवस्था र नयाँ सरकारका योजनाहरूप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि अविश्वसनीय जनमत रहेको उल्लेख गर्दै सरकारले अघि सारेका सुधारका कार्यक्रमहरू निकै आशाजनक रहेको बताएका छन्।
बिहीबार साँझ काठमाडौँ ओर्लिएका विशेष दूत गोरले आफ्नो नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए। उनले यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए। नेपालको महत्वपूर्ण भ्रमण सकेर उनी शनिबार राति नै नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।











