२०८३ बैशाख १९ गते, शनिबार १८:५०

राष्ट्रपति पौडेलद्वारा ६ वटा अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अझै अध्ययनमै

काठमाडौँ –

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ८ वटा अध्यादेशमध्ये ६ वटा अध्यादेश जारी गर्नुभएको छ। शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्दै थप तीन वटा अध्यादेश जारी भएको जानकारी दिनुभएको हो।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम पछिल्ला तीन दिनमा यी अध्यादेशहरू जारी भएका हुन्।

यी हुन् जारी भएका अध्यादेशहरू:

  • बिहीबार (१७ वैशाख): सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३।

  • शुक्रबार (१८ वैशाख): सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३।

  • शनिबार (१९ वैशाख): स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३; सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३।

दुई अध्यादेशमा अन्योल कायमै

बाँकी दुईवटा अध्यादेश भने अझै अध्ययनकै क्रममा रहेका छन्। विशेष गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलले चासो देखाउनुभएको छ। यसअघिका सरकारहरूले पनि पटक–पटक सिफारिस गरेको यो अध्यादेशका विषयमा राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गर्नुभएको छ।

कानुनविद्हरूले प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्न सुझाव दिए पनि राष्ट्रपति पौडेल अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्नुभएको छैन। त्यस्तै, २५ भन्दा बढी कानुन संशोधनका लागि सिफारिस गरिएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ पनि हाल छलफलकै चरणमा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस