वीरगन्ज-
वीरगन्ज क्षेत्रमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले शनिबार आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन्।
वीरगन्जस्थित क्लासिक बेन्क्वेट हलमा सम्पन्न कार्यक्रममा ७ महिला र १०४ पुरुष गरी कुल १११ जनाले स्वतस्फूर्त रूपमा रक्तदान गरेका हुन्। मानवता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा बिन्दा कुमारी, शान्ति मोक्तान, दीपक कुमार सिंह, चन्दन कुमार पण्डित, निजामुदिन अन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरी लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) ले वीरगन्जका अस्पतालहरूमा रगतको चरम अभाव भएको जानकारी पाएलगत्तै छोटो समयको तयारीमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “रक्तदान गर्दा दिनेलाई कुनै शारीरिक हानि हुँदैन, तर यसले कसैको अमूल्य जीवन बचाउँछ,” सांसद पन्तले भन्नुभयो, “त्यसैले हरेक स्वस्थ व्यक्तिलाई प्रत्येक तीन महिनामा रक्तदान गर्न म आग्रह गर्दछु।”
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले हाल वीरगन्जको रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा नारायणी अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीहरू मर्कामा परेको उल्लेख गर्नुभयो। यस्तो संवेदनशील समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा रास्वपा पर्सालाई धन्यवाद दिँदै उहाँले रक्तदाताहरू समाजका वास्तविक ‘नायक’ भएको बताउनुभयो।
कार्यक्रममा शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, कार्यक्रम संयोजक शिक्षाविद् मार्टिन मोक्तान, रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
रक्तदान कार्यमा नेपाल रेडक्रस सोसाइटी पर्सा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले प्राविधिक सहजीकरण गरेका थिए।











