२०८३ बैशाख २० गते, आईतवार १७:२७

इलेक्ट्रीक स्कुटरमा आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर

वीरगन्ज-

बढ्दो पेट्रोलको मूल्यबाट हैरान भई इलेक्ट्रीक मोटरसाइकल वा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनुस्। इलेक्ट्रीक स्कुटरकै कारण वीरगन्जमा एक परिवारको ज्यान नै जोखिममा परेको छ।

घरमा चार्ज गर्न राखिएको टोनमा कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी विशाल सर्राफ र उनको परिवारका सदस्यहरूको ज्यान संकटमा परेको हो।

बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा उनीसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर बिरामी भई आईसीयूमा भर्ना भएका छन्।

लगातार बढ्दै गएको पेट्रोलको मूल्यका कारण खर्च घटाउन विशालले वीरगन्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको टोनमा कम्पनीको इलेक्ट्रीक स्कुटर खरिद गरेका थिए। सोही स्कुटरलाई शनिबार राति चार्जमा लगाएर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र त्यसबाट परिवारका सदस्यहरू गम्भीर घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिनुभयो।

आगलागीमा परी गम्भीर बिरामी भएका छोरा, बुहारी र नातिलाई वीरगन्जको गण्डकस्थित बयोधा अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया नातिनीलाई सोही अस्पतालको एनआईसीयूमा राखिएको उहाँले बताउनुभयो।

पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको स्कुटरकै कारण आफ्नो परिवार संकटमा परेको भन्दै विष्णु सर्राफले दुःख व्यक्त गर्नुभयो। हाल उपचारलाई प्राथमिकता दिएको र त्यसपछि सम्बन्धित कम्पनीविरुद्ध मुद्दा दायर गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।

घटनास्थल पुगेका कुशवाह मोटर्सका सेल्स विभागमा कार्यरत शौरभ श्रीवास्तवले विद्युत् ‘फ्लक्चुएसन’ का कारण स्कुटरमा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताए। उनका अनुसार टोनमा कम्पनीको स्कुटरमा यस्तो घटना पहिलो पटक भएको हो र कारणबारे कम्पनीले पनि अनुसन्धान गर्नेछ।

आगलागीबाट पूर्ण रूपमा नष्ट भएको स्कुटरको क्षतिपूर्ति थर्ड पार्टी इन्सुरेन्सबाट हुने तथा घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने उनले बताए।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीसँग बुझ्दा उनले स्कुटरमा भएको आगलागीबाट एकै परिवारका चार जना सदस्य बिरामी भएको घटना सार्वजनिक भएको जानकारी दिए। उनले विशाल सर्राफसहित उनकी श्रीमती र दुई सन्तान घाइते भएको पुष्टि गर्दै घटनाको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस