२०८३ बैशाख २० गते, आईतवार १७:४३

सरकारी विज्ञापन नीति सञ्चारविरोधी छ : सचिव तिवारी

वीरगन्ज-

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज वीरगन्जका सञ्चारकर्मीहरूले प्रभातफेरी निकालेका छन्। नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भाग परिक्रमा गर्दै पुनः घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा आयोजित कार्यक्रममा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी समेत गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले नेपाल सरकारले हालै ल्याएको सरकारी विज्ञापन नीति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रका सञ्चार संस्थाहरूलाई आर्थिक रूपमा कमजोर पार्ने उद्देश्यले यस्तो नीति ल्याइएको आरोप लगाउँदै सरकारले उक्त नीति सच्याउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसी भण्डारी, समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव लगायतले सरकारले ल्याएको सरकारी विज्ञापन नीति तत्काल फिर्ता लिन माग गरेका छन्।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका सचिव विजयकुमार महतोले गर्नुभएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस