काठमाडौँ–
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर कडा व्यङ्ग्य प्रहार गर्नुभएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउनुभयो।
छलफलका क्रममा सांसद साम्पाङले प्रधानमन्त्रीको अनुपस्थितिलाई विवाहसँग तुलना गर्दै भन्नुभयो, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। यहाँ प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने ठाउँमा अरूलाई पठाएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।” उहाँले देश बनाउने कुरामा स्पष्ट दृष्टिकोण र इमानदारीको अभाव खट्किएको बताउँदै इमानदारी बिना कर्तव्य पूरा गर्न नसकिने उल्लेख गर्नुभयो।
साम्पाङले संसद्लाई सरकारले जीवन्त बनाउन नसकेको र संसद्का छलफलहरूलाई केवल औपचारिकतामा मात्र सीमित राखेको दाबी गर्नुभयो। “यहाँ काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने हिसाबले हामी चल्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “नेपालीहरू गफ गर्नमा मात्र माहिर भयौँ, काममा होइन।”
सरकारले ल्याएको नीति तथा कार्यक्रम गहन छलफल बिना नै हतारमा ल्याइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। नीतिलाई ‘गन्तव्य’ र कार्यक्रमलाई ‘बाटो’ को संज्ञा दिँदै साम्पाङले भन्नुभयो, “यहाँ त न नीतिको पत्तो छ, न कार्यक्रमको स्पष्टता। विषयगत समितिहरूलाई समेत उपेक्षा गरेर एक्लै अगाडि बढ्न खोज्दा समस्या जहाँको त्यहीँ छ।”
रातभरि पढेर भोलिपल्टै निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको भन्दै उहाँले संसद्लाई रबर स्ट्याम्प नबनाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यद्यपि, आगामी दिनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नेमा आफूले अझै आशा राखेको उहाँको भनाइ थियो।











