काठमाडौँ–
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विवाद समाधान गर्न सरकारसँग उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले वि.सं. २०३८ सालमा स्थापना भएको ऐतिहासिक हरिखेतान सामुदायिक क्याम्पस अहिले निरन्तरको विवाद र झडपस्थलमा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेको र १५० भन्दा बढी प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै उनले दैनिकजसो हुने नाराबाजी र झडपका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए।
सांसद पन्तका अनुसार गुठी संस्थानको जग्गामा निर्माण गरिएको उक्त सामुदायिक क्याम्पसमा सुरुवाती समयमा निर्माण सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक क्याम्पसको मूल विधान नै संशोधन गर्दै आएका छन्। यसले गर्दा स्थापित सामुदायिक क्याम्पसलाई निजीकरणतर्फ उन्मुख गराउन खोजिएको आभास पैदा भएको उनको भनाइ थियो।
क्याम्पसमा पछिल्लो समय विकसित परिस्थितिबारे सदनलाई जानकारी गराउँदै उनले हालै भएको एक झडपमा क्याम्पस प्रमुखमाथि नै दुर्व्यवहार भएको, केही कर्मचारीलाई सेवाबाट हटाइएको र केही कर्मचारी अझै पनि प्रहरी हिरासतमा रहेको अवस्था तर्फ सरकारको ध्यानाकर्षण गराए।
उनले सम्माननीय सभामुखमार्फत नेपाल सरकार तथा सम्बन्धित नियामक निकायलाई यथाशीघ्र छानबिन समिति गठन गर्न आग्रह गरेका छन्। समिति गठन गरी क्याम्पसको वास्तविक सामुदायिक मर्मअनुसारको विधान लागू गर्न र अवरुद्ध पठनपाठन पूर्ण रूपमा सञ्चालन गराउने वातावरण मिलाउन उनले जोडदार माग गरे।












