वीरगन्ज, ६ जेठ ।
हिन्दू पत्रकार संघ नेपालले वीरगन्जस्थित ऐतिहासिक माईस्थान मन्दिर प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरी क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष आनन्द पटेललाई सम्मान गरेको छ।
हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित अध्यक्ष पटेललाई खादा ओढाएर सफल कार्यकालको शुभकामना सहित सम्मान गरेका हुन्। सम्मानित पटेल हिन्दू पत्रकार संघ नेपालका कोषाध्यक्ष समेत हुन्।
कार्यक्रममा बोल्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले पत्रकारिता क्षेत्रमा युवाहरूको नेतृत्व आउनु सुखद पक्ष रहेको बताए। उनले पत्रकारिता जगत्लाई अझ बढी मर्यादित, निष्पक्ष र व्यावसायिक बनाउन युवा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। अध्यक्ष रौनियारले श्रमजीवी पत्रकारहरूको हकहितको रक्षाका लागि तथा समाजका सत्यतथ्य घटनालाई बिनाकुनै दबाब उजागर गर्न नयाँ कार्यसमितिले दृढतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, सम्मानित व्यक्तित्व एवं क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष आनन्द पटेलले सम्मानका लागि कृतज्ञता ज्ञापन गर्दै युवा पत्रकारहरूको क्षमता अभिवृद्धि र पत्रकारिताको पेसागत सुरक्षाका लागि आफू सधैँ प्रतिबद्ध रहने बताए। उनले समाज र सञ्चार जगत्को विश्वसनीयता कायम राख्न सबै पत्रकार संघ-संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राखे।
उक्त सम्मान कार्यक्रममा हिन्दू पत्रकार संघका उपाध्यक्ष विनोद पटेल, सचिव राजकुमार सर्राफ लगायत अन्य पदाधिकारी, सदस्य तथा स्थानीय सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।












