वीरगन्ज-
उद्योगको आश्वासनमा भरोसा गरेर आलु खेती गरेका पर्साका किसान अहिले गम्भीर आर्थिक संकटमा परेका छन् । फ्रेन्च फ्राई तथा चिप्स उत्पादन गर्ने भैरहवास्थित चर्चित कम्पनी फास्ट च्वाइस फुड्स लिमिटेडले किसानसँग गरेको सहमति कार्यान्वयन नगर्दा तीन किसानको ६ सय २५ क्विन्टलभन्दा बढी आलु कुहिने अवस्थामा पुगेको हो।
वीरगन्ज महानगरपालिका–३१ बेलवा र पर्सागढीको रमौली क्षेत्रमा कम्पनीकै सल्लाह र उपलब्ध गराइएको बीउका आधारमा ५ बिघा १८ कठ्ठा क्षेत्रफलमा आलु खेती गरिएको थियो। कम्पनीले सम्झौता अनुसार आलु नउठाउँदा करिब १८ देखि २० लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको किसानहरुले गुनासो गरेका छन् ।

वीरगन्ज–३१ बेलवाका किसान अनिरुद्ध प्रसाद थारुले कम्पनीका कोअर्डिनेटर राजेन्द्र विकसँग प्रतिकिलो २२ रुपैयाँमा खेतबाटै आलु उठाउने सहमति भएको बताए। सोही आधारमा उनले ३ बिघा ६ कठ्ठामा आलु खेती गरेका थिए। करिब ३ सय ३० क्विन्टल उत्पादन भए पनि कम्पनीले आलु नलगेपछि १० लाख रुपैयाँभन्दा बढी घाटा लागेको उनको भनाइ छ ।

त्यस्तै, वीरगन्ज–३१ कै नवल किशोर झाले कम्पनीसँगको समन्वयमा १२ कठ्ठामा आलु खेती गरेका थिए । १ सय ५० क्विन्टल उत्पादन भएपनि कम्पनीले आलु नउठाउँदा आफू करिब ३ लाख रुपैयाँसम्म नोक्सानीमा परेको उनले बताए । सुरुमा खेतबाटै आलु लैजाने सहमति भए पनि पछि बीउको तौल र मूल्यका विषयमा विवाद निकालेर कम्पनी पछि हटेको उनको आरोप छ । किसान झाका अनुसार कम्पनीविरुद्ध कानुनी प्रक्रियामा जाने तयारी भइरहेको छ ।
यस्तै, वीरगन्ज पानीट्यांकी निवासी रिजवान अन्सारीले पर्सागढीको रमौलीमा २ बिघा क्षेत्रफलमा आलु खेती गरेका थिए। उनले खेतीमा मात्रै २ लाख रुपैयाँभन्दा बढी लगानी गरेका थिए। करिब १ सय २० क्विन्टल आलु उत्पादन भए पनि कम्पनीले नउठाउँदा अहिले अधिकांश आलु कुहिन थालेको छ। यसबाट आफूलाई ४ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको उनले बताएका छन्।
उता कम्पनीका कोअर्डिनेटर राजेन्द्र विकले भने कम्पनीले सहमतिअनुसार आलु लिन सवारीसाधन खेतसम्म पठाएको दाबी गरेका छन्। उनका अनुसार बीउको तौल र मूल्य सम्बन्धी विवादका कारण किसानहरूले नै आलु दिन नमानेपछि गाडी खाली फर्किएको हो। कम्पनीले प्रतिकिलो २२ रुपैयाँ दिन तयार हुँदाहुँदै विवाद उत्पन्न भएपछि आलु उठाउन नसकिएको उनको भनाइ छ।

तर किसानहरू भने खेतीअघि भएको सहमति पछि कम्पनीले बदल्न खोजेको आरोप लगाउँछन्। उनीहरूका अनुसार उद्योगले समयमै जिम्मेवारी पूरा गरेको भए सयौँ क्विन्टल आलु नष्ट हुने अवस्था आउने थिएन। अहिले एकातिर किसानको मेहनत र लगानी डुबेको छ भने अर्कोतर्फ उत्पादन गरिएको खाद्यान्न समेत खेर जाने स्थिति बनेको छ।
कृषि क्षेत्रमा काम गर्ने जानकारहरूका अनुसार उद्योगहरूले केवल नाफामुखी सोचभन्दा माथि उठेर किसानको हितलाई प्राथमिकतामा राख्न सके किसान र उद्योग दुवैलाई दीर्घकालीन लाभ हुने थियो।











