२०८३ जेष्ठ १४ गते, बिहीबार ००:०४

जेनजी आन्दोलन: दुर्गा प्रसाईं, सांसदहरू र सेलिब्रेटीसहित ४८ जनामाथि विस्तृत अनुसन्धान गर्न सिफारिस

काठमाडौं

गत भदौ २३ र २४ गते राजधानीमा भएको ‘जेनजी प्रदर्शन’ का क्रममा भएको मानवीय तथा भौतिक क्षति र हिंसात्मक गतिविधिमा विभिन्न अभियन्ता, सांसद, सेलिब्रेटी तथा सार्वजनिक व्यक्तिहरूको भूमिकामाथि विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको छ। सुरक्षा निकाय र सम्बन्धित संस्थाको अध्ययन प्रतिवेदनले प्रदर्शनलाई उत्तेजित बनाउन र भीड परिचालन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेलेको भन्दै ४८ जना सार्वजनिक व्यक्तित्वहरूलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको हो।

अनुसन्धानको घेरामा परेका व्यक्तिहरू

प्रतिवेदनमा प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्चारमाध्यममार्फत उत्तेजक अभिव्यक्ति दिएको आरोप लागेका व्यक्तिहरूको सूची समावेश छ।

जसमा पूर्वरानी हिमानी राज्यलक्ष्मी सिंह, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, सांसदहरू डा. तोषिमा कार्की, मनिश झा र हरि ढकाल रहेका छन्। त्यस्तै अभियन्ताहरू गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोतम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, निश्चल वस्नेत, सुशिला कार्की, ओम प्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, निशान मैनाली र भ्लगर सिसन बानियालगायत रहेका छन्।

सामाजिक सञ्जाल र गुप्तचर प्रतिवेदनलाई आधार

राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरण, उनीहरूले सामाजिक सञ्जालमा गरेका पोस्ट, सार्वजनिक अभिव्यक्ति र सञ्चारमाध्यममा आएका सामग्रीहरूलाई प्रतिवेदनको मुख्य आधार बनाइएको छ। यी सामग्रीहरूको अध्ययनका आधारमा सम्बन्धित व्यक्तिहरू प्रदर्शनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएको हुन सक्ने कडा सम्भावना औंल्याइएको छ।

प्रतिवेदनमा भनिएको छ, “सम्बन्धित व्यक्तिहरूका अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई थप आक्रोशित र उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विषयमा विभिन्न कोणबाट टिप्पणी हुँदै आएको देखिन्छ। त्यसैले भदौ २३ र २४ गते भएका घटनामा उनीहरूको कुनै संलग्नता रहे–नरहेको र उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी प्रभावित भए–नभएको विषयमा विस्तृत अनुसन्धान आवश्यक छ।”

दुरुत्साहन र शान्ति भंगको कडी खोजिँदै

अनुसन्धानले मुख्य गरी ती सार्वजनिक व्यक्तिहरूका कारण मुलुकको सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा कस्तो असर पुग्यो भन्ने कुराको निर्क्योल गर्नेछ। साथै, उनीहरूले कानुन विपरीत सार्वजनिक शान्ति भंग हुने गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुरुत्साहन (उक्साउने काम) गरे वा गरेनन् भन्ने विषयलाई अनुसन्धानको मुख्य केन्द्रमा राखिएको छ।

सुरक्षा निकायका उच्च स्रोतका अनुसार घटनासँग सम्बन्धित अभिव्यक्ति, सामाजिक सञ्जालका डिजिटल फरेन्सिक प्रमाण, भीड परिचालनका तौरतरिका र प्रदर्शनका क्रममा भएका विध्वंसात्मक गतिविधिबारे थप प्रमाण संकलन तथा प्राविधिक विश्लेषण गर्ने काम अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस