काठमाडौं –
तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूली हुँदै नारायणी नदीसम्म ठूलो क्षति पुर्याएको खुलेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विस्तृत प्राविधिक प्रतिवेदनले बाढीको भयावहता र त्यसको तीव्र बहावबारे नयाँ तथ्य सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा एक्कासि ठूलो परिमाणमा पानी प्रवेश गरेको थियो। त्यसको तीव्र बहाव रसुवा हुँदै नुवाकोट, धादिङ, चितवनसम्म पुगेको थियो। बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै चारवटा स्वचालित जलमापन केन्द्रसमेत पुलसहित बगाएको छ।
प्रारम्भिक प्राविधिक आँकलनअनुसार देवघाट जलमापन केन्द्रबाट मात्रै बाढीको अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको देखिएको छ।
भूकम्पपछि आयो बाढीको सूचना
प्रतिवेदनअनुसार १० भदौ बिहान ८ः३७ बजे खानी तथा भूगर्भ विभागले ४.४ रेक्टर स्केलको भूकम्प मापन गरेको थियो। त्यसको केही समयमै तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो।
बाढीको सूचना पाएलगत्तै बाढी पूर्वानुमान महाशाखाले बिहान ९ः१५ बजेदेखि नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क गराउन पूर्वसूचना तथा एसएमएस पठाउन थालेको थियो।
महाशाखाका अनुसार नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई ६ लाख ७९ हजार २ सय ९५ वटा पूर्वसूचना एसएमएस पठाइएको थियो। तीमध्ये नेपाल टेलिकमबाट ४ लाख ३५ हजार ६ सय ३५ र एनसेलबाट २ लाख ४३ हजार ६ सय ६० एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।
समयमै जारी गरिएको पूर्वसूचनाका कारण ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानतर्फ जान सहयोग पुगेको महाशाखाको दाबी छ।
८ः३७ को भूकम्पदेखि देवघाटसम्म बाढीको कहालीलाग्दो यात्रा
प्रतिवेदनअनुसार बाढीको बहाव अत्यन्त तीव्र थियो। केही घण्टामै भोटेकोशीबाट धादिङ हुँदै मुग्लिन पार गरेर नारायणीको देवघाटसम्म बाढी पुगेको थियो।
- ८ः३७ बजे: ४.४ रेक्टर स्केलको भूकम्प मापन।
- ८ः५० बजे: भोटेकोशी स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द। अन्तिम जलसतह १.६२ मिटर।
- ९ः०० बजे: तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त।
- ९ः१५–९ः१६ बजे: त्रिशूली तटीय क्षेत्र, मुग्लिनसम्म, उच्च सतर्कता अपनाउन पहिलो पूर्वसूचना जारी।
- ९ः२० बजे: बेत्रावती जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द। अन्तिम जलसतह ३.५५ मिटर।
- १०ः२८ बजे: बाढी धादिङको गल्छी आसपास पुगेको सूचना।
- ११ः२६ बजे: फुर्केखोला (मलेखु) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो।
- ११ः४३ बजे: जलसतहले खतराको तह पार गरेपछि फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगायो।
- ११ः५० बजे: बाढी मलेखु बजार आसपास पुग्यो।
- १३ः०० बजे: बाढीले मुग्लिन पार गर्यो।
- १३ः३५ बजे: तिब्बततर्फ बनेको ताल पूर्ण रूपमा नखुलेको र जोखिम कायमै रहेको सूचना पुनः जारी।
- १४ः१४ बजे: कालीखोला जलमापन केन्द्रमा जलसतह खतराको तह पार गर्दै १२.३ मिटरको उच्चतम बिन्दुमा पुग्यो।
- १५ः२० बजे: बाढी नारायणी–देवघाट क्षेत्रमा प्रवेश गर्यो।
- १६ः०० बजे: देवघाट जलमापन केन्द्रमा जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुग्यो।
- १८ः३० बजे: देवघाटमा बहाव घट्दै करिब ४ मिटरको सामान्य अवस्थामा फर्कियो।
चार जलमापन केन्द्र ध्वस्त
बाढीको वेग र परिमाण कति ठूलो थियो भन्ने प्रमाण चारवटा जलमापन केन्द्रको विनाशले पनि देखाएको छ।
प्रतिवेदनअनुसार रसुवाको भोटेकोशी, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती र धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र बाढीले पुलसहित बगाएको छ।
केन्द्रहरू नै बाढीले बगाएपछि ती क्षेत्रमा प्रत्यक्ष जलसतहको तथ्यांक संकलन गर्नसमेत कठिन भएको महाशाखाले जनाएको छ।
रसुवागढीदेखि भारत सीमासम्म उच्च जोखिम
प्राविधिक आँकलनपछि महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ।
यस क्षेत्रलाई अति उच्च जोखिम, उच्च जोखिम र मध्यम जोखिम क्षेत्रका रूपमा नक्सांकन गरी नदी आसपासका बस्तीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
तिब्बतमा नदी थुनिएर बनेको ताल फुटेपछि केही घण्टामै सयौँ किलोमिटर तलसम्म विनाशकारी प्रभाव पार्न सक्ने देखिएको यो घटनाले हिमाली क्षेत्रमा बन्ने यस्ता प्राकृतिक ताल, नदी थुनिने घटना र आकस्मिक बाढीको पूर्वानुमान तथा सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ।












