काठमाडौं –
प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ ।
पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा असफल रहेको दाबी गरे ।
सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको बताउँदै परियारले भने, ‘यो सरकार ‘नहुने विरुवाको खस्रो पात’ १०० दिनले प्रष्ट देखाएको छ ।’
परियारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्न सकेको छैन ।
भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए । ‘सुकुम्बासीलाई विना विकल्प उठिबास लगाइयो, सवारी सूरक्षाका नाममा जनता मारा जरिवान अवलम्बन लगायतका विषयले यो तानाशाहीता तिर उन्मुखतिर छ भन्ने प्रष्ट भएको छ,’ परियारले थपे ।
पार्टीका परचार विभाग प्रमुख रजमान तामाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिले बालेन सरकार पूर्णरुपले राष्ट्रघाति रहेको आरोप लगाए ।
पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा संवैधानिक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।











