२०८३ असार २५ गते, बिहीबार ०९:३८

उद्योगीपछि निर्माण व्यवसायीसँग प्रधानमन्त्री शाहको संवाद आज, नीतिगत सुधार र समस्या समाधानबारे छलफल हुने

काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने अभियान अन्तर्गत आज (बिहीबार) नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग विशेष संवाद गर्दै हुनुहुन्छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने यस भेटमा निर्माण क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे छलफल हुनेछ।

प्रधानमन्त्री भएपछि शाहले निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सुधार्न विभिन्न व्यावसायिक सङ्गठनहरूसँग नियमित भेटघाट गर्ने कार्यक्रम तय गर्नुभएको छ। सोही क्रममा हिजो (बुधबार) उहाँले उद्योगी तथा व्यवसायीहरूसँग सामूहिक छलफल गर्नुभएको थियो भने आज निर्माण व्यवसायीहरूलाई संवादका लागि बोलाउनुभएको हो।

बुधबार भएको निजी क्षेत्रका प्रतिनिधिहरूसँगको पहिलो बैठकमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधि सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई सहज पार्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले प्रधानमन्त्रीसँगको यस भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो। उहाँले निर्माण व्यवसायीहरूले भोग्दै आएका समस्याहरू सिधै प्रधानमन्त्री समक्ष राख्ने जानकारी दिनुभयो। “निर्माण क्षेत्रमा काम गर्ने अनुकूल वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारका विषयमा हामी प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउनेछौँ,” अध्यक्ष पाण्डेले भन्नुभयो।

प्रधानमन्त्री कार्यालयका अनुसार आर्थिक क्षेत्रका विभिन्न सरोकारवाला निकायहरूसँग प्रत्यक्ष संवाद गरी नीतिगत स्पष्टता ल्याउने र विकास निर्माणका कार्यलाई गति दिने प्रधानमन्त्री शाहको योजना रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस