धनगढी–
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राजनीतिक दलका नेताहरूबारे विवादास्पद अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी जिल्ला तानिएका छन्।
कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई उनले दिएको अभिव्यक्तिबारे बुझ्न र सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गर्नुभयो।
कैलालीको घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले राजनीतिक नेतृत्व र आफ्नो छनोट प्रक्रियाबारे टिप्पणी गर्नुभएको थियो। “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो,” चौधरीले कार्यक्रममा भन्नुभएको थियो, “केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो।”
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको देखिन्छ। उनले नेपाल प्रहरीले लगाउने बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनाको कडा प्रतिस्पर्धाबाट छनोट भएर आएको दाबी गर्नुभएको थियो।
राजनीतिक नेतृत्वमाथि व्यङ्ग्य गर्दै डीएसपी चौधरीले भन्नुभएको थियो, “हामी भोट हालेर, टीका लगाएर आएका होइनौँ। दारु भात खाएर आएकै होइन।”
सम्बोधनका क्रममा उनले यो भिडियो सार्वजनिक नगर्न सहभागीहरूसँग अनुरोध समेत गर्नुभएको थियो। तर, उक्त आग्रह विपरीत भिडियो सामाजिक सञ्जालमा बाहिरिएर तीव्र आलोचना भएपछि प्रहरी प्रशासनले उहाँमाथि चासो देखाएको हो। कैलाली प्रहरीले यसलाई औपचारिक छानबिन भन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसङ्गमा र कसरी दिइएको हो भन्नेबारे सामान्य सोधपुछका लागि मात्र बोलाइएको जनाएको छ। तर, बहालवाला जिम्मेवार सुरक्षा अधिकारीले देशको कार्यकारी प्रमुख र पूर्वप्रधानमन्त्रीको नाम जोडेर सार्वजनिक रूपमा यस्तो टिप्पणी गर्नुलाई प्रहरी आचारसंहिता विपरीत मानिएको छ।












