गोलबजार–
सिरहामा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका–९ चोहर्वामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकलमा सवार अन्दाजी २४ वर्षीय एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको स्कुल बस एक्कासि उत्तरतर्फ पर्ने गोविन्दपुर मार्गतिर मोडिने क्रममा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसको पछिल्लो भागमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा परि मिर्चैया नगरपालिका–५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय इम्तियाज राइन घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











