काठमाडौं –
राहदानी विभागअगाडि बिहीबार दिउँसो एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएको रहस्यमय घटनाले राजधानीमा सनसनी फैलाएको छ। घटनापछि ती व्यक्तिलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ।
राहदानी विभागको ३ नम्बर गेटअगाडि भएको उक्त घटनामा आगो लगाउने व्यक्तिको परिचय अझै खुल्न सकेको छैन। उनले यस्तो कदम किन चाले भन्ने विषय पनि रहस्यमै रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घाइते व्यक्तिको उपचार भइरहेको छ। घटनाको कारण, उद्देश्य र उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। आत्मदाह प्रयासको वास्तविक कारण के थियो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ।












