२०८३ असार २५ गते, बिहीबार १८:२९

मधेसका वरिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टरको अध्यक्षमा चयन

वीरगन्ज –

करिब साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दीपेन्द्र चौहान साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) को अध्यक्षमा चयन भएका छन्। बिहीबार सम्पन्न समाजको साधारणसभाले चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

चौहान नेपाल पत्रकार महासंघ मधेस प्रदेशका प्रथम अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सचिवसमेत हुन्। उनले लामो समयदेखि मधेस प्रदेशको पत्रकारिता, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता तथा साप्ताहिक प्रकाशनहरूको सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा तथा सदस्यमा तुला अधिकारी चयन भएका छन्। समाजका संस्थापक एवं निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकको जिम्मेवारी दिने निर्णय पनि साधारणसभाले गरेको छ।

साधारणसभाले नवनिर्वाचित अध्यक्ष चौहानलाई आगामी जुलाई १५ देखि १९ सम्म बेलायतको वेल्समा आयोजना हुने समाजको अन्तर्राष्ट्रिय साधारणसभामा नेपाल च्याप्टरको प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि दिएको छ। उक्त कार्यक्रममा उनले नेपाल शाखाका गतिविधि, नेपालको पत्रकारिताको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुति दिनेछन्।

चौहानको अध्यक्षीय चयनलाई नेपाली साप्ताहिक पत्रकारिताको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा मधेस प्रदेशबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रमा सक्रिय नेतृत्वको सम्मानका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस